बसोवास स्थल


गोदार थापा  वंशपरिचय (सिन्धुली खण्ड)
सिन्धुलीको धार्मिक तथा ऐतिहासिक महत्व 

क) धार्मिक महत्व 

संसारका सबै तीर्थस्थलहरु मध्ये नेपाललाइ उत्तम तीर्थस्थल मानिन्छ । त्यस मध्येमा पनि पूर्वमा कौशिकि ,पश्चिममा गण्डकी ,उत्तरमा गोसाइकुण्ड र  दक्षिणमा नटारम्भेश्वर यति चार किल्लाको धार्मिक दृष्टिकोणले अझ ठूलो महत्व छ ।  यस क्षेत्रलाई मुक्ति क्षेत्र पनि भनिन्छ ।   यस क्षेत्रभित्र अनेक देवस्थल ,तीर्थस्थल ,नदि , पहाडहरु पर्दछन् । तिनै महिमा युक्त  धार्मिक तीर्थस्थलहरु मध्ये सिन्धुलीगढीको छेउछाउ रहेका केही महत्वपूर्ण  तीर्थस्थलहरुको यहाँ चर्चा गरिएको छ । 
सिन्धुलीगढी महेन्द्रमाला पर्वत (महाभारत डाँडो) मा पर्दछ । यो भुभाग राजा जनकको कर्म भूमि हो । ऋषि आश्रमको लागि महाभारत पर्वत नै सबैभन्दा उपयुक्त भूमि थियो । त्यसैले महााभारत पहाडमा सप्तऋषि महर्षिजनले निवास गरेका छन् । यस क्षेत्रभित्र अनेक देशभक्तिहरु विराजमान छन् । वादरायण रचित १८ पुरान ,महााभारत ,ब्रम्हशुत्र आदि ग्रन्थ यिनै भूमिमा बसेर लेखिएका हुन् । यसरी महाभारत डाँडोमा निवास गर्ने विभिन्न ऋषि महर्षिहरु मध्येका  एक गौतम ऋषि हुन् । गौतम ऋषिको आश्रम बागभैरवको थुम्कोमा थियो । सिन्धुलीगढीको पूवपट्टी अवस्थित थुम्कोलाई वागभैरव भनिन्छ । एकपटक संसारमा अनावृष्टि भयो । संसारका प्राणीहरु भोक भोकै मर्न लागे । त्यसबेला गौतम ऋषिले वागभैरव थुम्कोमा बसेर संसारको कल्याणका निमित्त हजारौँ वर्ष तपस्या गरे । त्यो तपस्याबाट प्रभावित भइ विष्णु भगवान् गरुड चढेर ऋषि आश्रममा पुग्नुभयो । त्यपछि गौतम ऋषिले संसारमा रहेका प्राणिहरुको कल्याण गर्नका लागि भगवानसँग विन्ति गरे । यसै क्रममा विष्णु भगवानले गरुडको  पखेटाबाट महाभारतको डाँडो काटेर पानि निकाली दिनुभयो । यसरि गरुडको पखेटाबाट निकालिएको हुँदा भगवानले त्यस नदिलाई गारुडी गंगा नाम दिनु भयो । यसरी स्वयम विष्णु भगवानबाट उत्पत्ति भएको गारुडी गंगालाई हजारौँ वर्षपछि भाषा अपभ्रंश भएर स्थानीय मानिसहरुको गाडौली खोला भन्न थाले । 
गौतम ऋषिकि पत्नि गौतमी पनि सँगै थिइन् । त्यसकारण भगवानले गौतमीलाई पनि इच्छाअनुसारको वर माग्न भन्नुभयो ।  भगवानको आज्ञाबाट खुशी भएकी गौतमीले आफ्नो नाम अमर राखिदिन प्रार्थना गरिन । विष्णु भगवान्का आर्शिवादले त्यहाँ गौतमी गंगाको उत्पत्ति   भयो । गौतमी गंगालाई हजारौँ वर्षपछि मानिसहरुले ग्वाङखोला भन्न लागे । सिन्धुलीमाढी बजारबाट बग्ने ग्वाङखोला धार्मिक दृष्टिकोणले गरिमामय इतिहास बोकेकी गौतमी गंगा हुन् । त्यसैगरी सिन्धुलीमाढी बजारको पूर्वतर्फको गडौली खोला गरुडी गंगा हुन । गारुडी गंगा ,गौतमी गंगा र कमलामााई तीन नदीहरु मिसिएको दोभानको धार्मिक दृष्टिकोणले छुट्टै महत्व छ , भने गौतम ऋषिको आश्रम रहेको यो पर्वत मानवको लागि ज्ञान आर्जनको महत्वपूर्ण स्थल बन्न सक्छ । 
शिरमा हिमालय ,चरणमा गंगादेवि ,दाहिनेतर्फ गण्डकी ,बायाँ तर्फ कौशिकि ,नाभिमा भिथिला र हृदयमा कमला रहेको यो पूण्य भूमिमा अवस्थित अर्काे तीर्थस्थल कमला नदी हो । कलियुगमा यो तीर्थस्थलमको साह्रै ठूलो महिमा रहेकाले कमलामाइका बारेमा यहाँ छोटो चर्चा गरिएको छ । मन्दारातलकी छोरी कमला हिमालय पर्वतमा गएर तपस्या गर्न थालिन् । उनको तपस्याको प्रभाव संसार भर फैलियो । त्यसपछि पर्वतराज हिमालयको आज्ञाअनुसार कमलाले अगाडी भनिन् कलियुगमा मानिसहरु सबै पाप कर्ममा समावेश हुनेछन् शास्त्र विद्याविहिन हुने छन् । आलस्य र हिंस्रक मान्छेहरुको संख्या बढ्ने छ । यस युगका मानिसहरु जप ,तप ,ध्यान ,भजन ,किर्तन आदि धार्मिक कर्मलाई छाडेर पाप कर्मतिर लाग्ने छन् । यसरी मानिसले पाप कर्मतिर लाग्नेछन् । यसरी मानिसले पापकर्म गर्दा गर्दा कलियुगको दश हजार वर्ष पुग्दा भगवानको भजन ,पूजा पाठ ,मठ–मन्दिर समाप्त हुनेछ । यसका लक्षणहरु कलियुगको  पाँच हजार वर्ष वित्दा देख्न सकिनेछ । कलियुगको पाँचहजार वर्षपछि गंगाले आफ्नो महिमा त्याग्नुहुनेछ । त्यसपछि गंगा नदिमा फोहोर ,ढल, नाल , गन्धा गर्न मान्छेले प्रारम्भ गर्ने छन् । गाउँका इष्ट देवताहरु गाउँ त्यागेर हिँडने छन् । गाउँका देवताको शक्ति समाप्त भएपछि गाउँमा युद्ध रोग ,व्याधी र अशान्ति बढ्नेछ । त्यस समयमा गंगाजी प्रभावहिन हुने भएकाले धर्मात्माको धर्म रक्षा र पापीको पाप नाश गर्नुपर्ने हुनाले गंगाको पाप हर्ने गुण मलाइ प्राप्त होस् । जसरी गंगाजीमा स्नान गर्नाले पाप नाश हुन्छ । त्यसैगरि कमलाजीमा स्नान गर्नाले पापहरण गर्न सक्ने गंगाजी समानको शक्ति मलाई प्रदान गरियोस भनिन् । कमलाजीको कुरा सुनेर गिरिराज हिमालय प्रसन्न भएर वरदान दिनुभयो । त्यसपछि देवता ,ऋषिमुनि ,सन्तमहन्तबाट जय –जयकार गरियो ।  यसरी वरदान प्राप्त गरेपछि कमलाजी हिमालयबाट अदृश्य भइन् । त्यसपछि उनी मिथिला नजिकको एउटा गाउँमा त्यस गाउँमा एकजना धर्मात्मा ब्राहमण बस्थे । कमलाजी तिनै ब्राहमणको घरमा दासी भएर बसिन् । खासगरि सितालाई साथी बनाएर खुसी पार्नका लागि कमला त्यहाँ निवास गर्न पुगेकि थिइन् । यस प्रकारले कैयन वर्ष बित्यो । एकपटक एउटा पुण्य पर्वकाल आयो । ती वृद्ध ब्राहमण गंगामा स्नान गर्न जान लाग्दा कमलाजीले गंगामा चढाइदिइन् अक्षता पठाइन् । त्यो अक्षताको सानो पोको पनि गोजिमा राखेर ब्राहमण गंगाजीको स्नान गर्न गए । गंगाजीको स्नान ,भजन ,किर्तन आदि सकेर ब्राहमण घर फर्के । तर जति हिंडेपनि ती ब्राहमण  बारम्बार गंगाजीको तिरमा पुग्थे । गंगाजी माथि के अपराध भयो भने ब्राह्मणले सम्झे । त्यसपछि उनले कमलाको नाम लिएर त्यो अक्षता गंगाजीमा चढाइदिए । अक्षता गंगाजीमा पर्नासाथ नदीको बीचबाट साक्षत् गंगाजी प्रकट भएर त्यो अक्षता ग्रहण गरी अन्तरध्यान भइन् । त्यसपछि ती ब्रह्माण घर फर्के र देवता सम्झेर कमलाजीको चरणमा परे । अनभिज्ञतावश आफूबाट ठूलो भुल भएकाले ती ब्राह्मणलाई आफ्नो परिचय दिदै भनिन्– गौतमीको सङ्गममा मूर्ति स्थापना गरी विधानपूर्वक मेरो पुजा गर्नु । कमला नदी र गौतमी नदीको सङ्गम एउटा ठूलो तीर्थस्थल हुनेछ । माघ महिनामा यी दुई नदीको दोभानमा स्नान गरेर बस्नेले करोडौँ पापबाट छुटकारा पाउने 
छ । माघ महिनामा यो तीर्थस्थलमा स्नान, दान, जप, होम गर्नेको मनोरथ पूरा हुनेछ । समस्थ पाप कर्मलाई नष्ट गरेर परलोकका लागि मुक्ति पाउन त्यो भन्दा ठूलो तीर्थस्थल कलियुगमा अर्को छैन भनेर कमलाले नदीको रुप धारण गर्नु भयो ।
कमलामाता र गौतमीको सङ्गम सिन्धुलीमाढीबाट ११ किलोमिटर दक्षिणमा अवस्थित छ । जसलाई माइस्थान भनिन्छ । कमलामाईलाई कलियुगको गंगा मानिन्छ । २०५७ सालसम्ममा कलियुुगको आयु ५००३ वर्ष बितेको अनुमान गरिन्छ । त्यसकारण मुक्तिमार्गका लागि कलीयुगको महत्वपूर्ण तिर्थस्थल कमलामाई र गौतमी गंगाको सङ्गम स्थल नै हो । तर कलियुगमा यस्ता तिर्थस्थलहरु मद्यपान, धुम्रपान र झगडा गर्ने भावनाबाट अभिप्रेरित हुन्छन् र रक्तबलि दिने परम्परा देखिन्छ । कमलामाई गंगा हुन् । त्यसकारण यस्तो पवित्र तीर्थस्थलमा माघ महिनामा स्नान गर्ने, व्रत बस्ने, भजन, र्कीतन, दान, जप, होम तथा आचार्यहरुद्वारा प्रवचन गराउनुपर्छ । कमलामाईको मन्दिरमा पाठी, परेवा आदि जनावरको रक्तबलि दिनु हुँदैन ।
सिन्धुली जिल्लाभित्र रहेका धार्मिक तीर्थस्थलहरुका बारेमा यहाँ चर्चा गरेर साध्य छैन । यो एउटा छुट्टै अध्ययनको विषय हो । भगवान् श्री पशुपतिनाथको दर्शन गर्नुपूर्व चौसठ्ठी लिङ्गको यात्रा गर्ने भक्तजनलाई ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख छ । ती चौसठ्ठी लिङ्गमध्येको पूर्वपट्टि दुम्जामा कुशेश्वर लिङ्ग पर्छ । कुशेश्वर लिङ्गको दर्शन नगरी श्रीपशुपतिनाथको तीर्थस्थल रहेको दुम्जा सिन्धुली जिल्लाको उत्तरी भागमा अवस्थित छ । सिद्धिप्राप्त स्थल भएकाले ऋषिमुनीहरुद्वारा सिन्धुली नामकरण गरिएको यो भूमि आफैँमा गौरवमय छ । सिन्धुलीको धार्मिक महत्वलाई प्रकाश पार्न उपमा, अलङ्कारको आवश्यकता पर्दैन तर यस विषयमा अध्ययन अनुसन्धान हुनु वाञ्छनीय छ ।

(ख) ऐतिहासिक महत्व

नेपालको राजनैतिक इतिहासमा सिन्धुलीगढीको आफ्र्न गौरवमय गाथा छ । आधुनिक नेपालको इतिहासमा सुनौला अक्षरले अङ्कित यो ऐतिहासिक भूमि त्रेतायुगमा जनक महाराजाका शासनाधीन रहेको मानिन्छ । त्यसपछिको इतिहासको लामो कालखण्ड वर्तमानसम्म अज्ञात छ । पूर्वी विहार, वंगाल र मगधसंग व्यापारिक सम्बन्ध राख्ने सबैभन्दा सजिलो मार्ग सिन्धुलीगढी भएकोले इतिहासको पूर्वसन्ध्यासँगै यस क्षेत्रले ठूलो महत्व पाउँदै आएको बुझिन्छ ।
वि.सं ११५४ देखि १३८३ सम्म सिन्धुलीगढी सिम्रौनगढका राजाको अधीनमा रहको अनुमान गरिन्छ । हालको वीरगंजदेखि केही पूर्व सिम्रौनगढमा राजधानी रहेको एउटा राज्य वि.सं. ११५४ तिर थापिएको थियो । यस राज्यका संस्थापक नान्यदेव थिए । वि.सं.११५४ देखि १३८३ को अवधिमा कर्नाटक वंशका सातजना शासकले सिम्रौनगढमा शासन संचालन गरे । तिनै शासकहरुमध्ये हरिसिंहदेव अन्तिम थिए । यस समयावधिमा सिन्धुलीगढी यिनै कर्नाटक वंशी सिम्रौनगढका राजाको अधीनमा रहेको मानिन्छ । वि.सं. १३८२ को अन्तमा हरिसिंहदेवलाई परास्त गरी सिम्रौनगढको राज्य वंगालका नवाफ सुल्तानले लिए । त्यसपछि वि.सं. १३२६ देखि १५७४ सम्मको करिब १४८ वर्ष सिन्धुलीगढीको क्षेत्र कसको अधिनमा रहयो भन्न सकिदैन । तर वि.सं. १४०६मा वंगालको नवाफका सेनाले सिन्धुलीगढीको बाटोबाट उपत्यकामा प्रवेश गरेर  लुटपाट मच्चायो । त्यसबेला सिन्धुलीगढी इतिहासमा मौन देखिनाले यो क्षेत्र वंगालको नियन्त्रणमा रहेको पनि हुनसक्छ । वि.सं. १५७५ देखि १८१८ सम्म सिन्धुली गढी सेन वंशि राजाहरुको शासनधिनमा रहयो ,तर यस समयावधिमा पनि शेनवंशि शासकहरुले यस क्षेत्रमा ढुक्कले शासन गर्न पाएनन् । पूर्वी नेपालको मूलबाटो पर्ने हुँदा त्यस क्षेत्रबाट हुनसक्ने खतरालाई बुझेर वि.सं.१७४५ मा सिन्धुली गढीको केही क्षेत्र काठमाण्डौँ उपत्यकाका राजाहरुले कुनै शर्तान लिएको अनुमान गरिन्छ । 
तुथासेन वंशका रुद्रसेनले वि.सं. १५७० तिर पाल्पामा राज्य स्थापना गरेको मानिन्छ । यिनकै छोरा मुकुन्दसेन प्रथम वि.सं.(१५७५–१६१०) बडा प्रतापी , त्यागी , तपस्वी र विद्याप्रेमी मानिन्छन् । यिनले पाल्पा वरिपरिको ठूलो क्षेत्र कब्जा गरे । पूर्वमा दुधकोशीसम्म यिनले आफ्नो नियन्त्रणमा लिए । पछि यिनै बैरागी भए । त्यसैले यिनले आफ्नो राज्यलाई वुटौल ,पाल्पा ,तनहुँ र मकावानपूर गरि चार राज्यमा विभाजन गरेर बाँडीदिए । यसरि स्थापना भएका मकवानपुर राज्य मुकुन्द सेनका कान्छा छोरा लोहाङ्गसेनको भागमा प¥यो । लोहाङ्गसेनपछि राघवसेन ,हरिहरसेन ,शुभसेन ,माणिकसेन ,हेमकर्णसेन र दिग्बन्धन सेन मकवानी राजा भए । हेमकर्णसेन गोरखाका राजा पृथ्वीनारायण शाहका ससुरा हुन् । 
यसरी व्यापारीक सम्पर्क ,सुगम मार्ग र सुरक्षाका दृष्टिकोणबाट महत्वपूर्ण ठानिएको सिन्धुलीगढी वि.सं. १८१९ मा श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको अधिनमा भयो । गोरखाली सेनाले वि.सं. १८१९ सालमा दिग्बन्धन सेनको मकवानपुर राज्य माथी विजय प्राप्त गरेको लगत्तै सिन्धुलीगढी उपर पनि आफ्नो अधिकार जमाए । सिन्धुली गढी माथीको विजयले एकातर्फ उपत्यकाका राजहरुको सम्बन्ध दक्षिणको तराइ भागसँग टुट्यो भने अर्काे तर्फ उपत्यकामा नाकाबन्दी गर्न अब सजिलो भयो । यसरी सिन्धुलीगढीको क्षेत्र पृथ्वीनारायण शाहको अधिनमा भएपछि नेपालले गरिमामय इपिहासलाई जीवन्त राख्न यो गढीको काँधमा ठूलो जिम्मेवारी थपियो । नेपाल राष्ट्रलाई सुरक्षित राख्ने ऐतिहासिक मूल ढोकाहरुमध्ये सिन्धुलीगढी पनि एक रह्यो ।
-गोदार थापा वंशपरिचय पृष्ठ २७ बाट साभार

No comments:

Post a Comment